pokhara news

अमेरिकी सिनेटर लिन्डसे ग्राहमको निधन, इजरायल–अमेरिका सम्बन्धमा नयाँ बहस

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका निकट सहयोगी तथा प्रभावशाली रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमको जुलाई १२ मा निधन भएको छ। उनको निधनसँगै इजरायल–अमेरिका सम्बन्ध, युक्रेन युद्ध, इरान नीति र मध्यपूर्वको कूटनीतिमा यसको प्रभावबारे व्यापक चर्चा सुरु भएको छ।

ग्राहम इजरायलका बलिया समर्थक, युक्रेनका सहयोगी र इरानका कडा विरोधीका रूपमा परिचित थिए। केही समययता इरानसँगको सम्झौताका विषयमा ट्रम्प र इजरायलबीच मतभेद बढिरहेका बेला उनको निधनलाई धेरैले अर्थपूर्ण घटनाका रूपमा हेरेका छन्।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले ग्राहमको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै उनलाई स्वतन्त्रता र लोकतान्त्रिक मूल्यका सच्चा रक्षकको संज्ञा दिएका छन्। निधन हुनुभन्दा केही दिनअघि मात्रै उनले किभ पुगेर जेलेन्स्कीसँग युक्रेनको हवाई सुरक्षा र रुसविरुद्धको प्रतिबन्धसम्बन्धी विधेयकबारे छलफल गरेका थिए।

अमेरिकी प्रतिनिधिसभाका सदस्य माइकल म्याकलले ग्राहमको सम्मान गर्ने सबैभन्दा राम्रो उपाय उनले अघि बढाएको रुसविरुद्धको प्रतिबन्धसम्बन्धी विधेयक पारित गर्नु रहेको बताएका छन्। उक्त विधेयकलाई ह्वाइट हाउसले पनि समर्थन गरिसकेको छ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले ग्राहमलाई इजरायलको सबैभन्दा ठूलो समर्थक र आफ्नो प्रिय मित्र भन्दै श्रद्धाञ्जली दिएका छन्। ग्राहमले अमेरिकाबाट इजरायलका लागि हतियार सम्झौता सुरक्षित गराउन, इजरायल–साउदी अरब सम्बन्ध सुधार गर्न तथा इरानविरुद्ध कडा नीति अपनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। ट्रम्प हिचकिचाएको अवस्थामा पनि उनले इरानविरुद्ध सैन्य कारबाहीको वकालत गरेका थिए।

विश्लेषकहरूका अनुसार उनको निधनसँगै इजरायलको पक्षमा अमेरिकी राजनीतिमा प्रभावशाली आवाज कमजोर भएको छ। अहिले अमेरिकामा गाजा युद्ध र इरानप्रतिको नीतिलाई लिएर इजरायलप्रतिको समर्थन घट्दै गएको अवस्था छ।

राष्ट्रपति ट्रम्पले पनि ग्राहमको निधनबाट सबैभन्दा ठूलो क्षति बेहोर्ने मुलुकमध्ये इजरायल रहेको बताएका छन्। अर्कोतर्फ इरानका सरकारी सञ्चारमाध्यमले भने उनको मृत्युको स्वागत गर्दै "मृत्युको व्यापारीको मृत्यु" शीर्षकमा समाचार प्रकाशित गरेका छन्।

पूर्व अमेरिकी राजदूत टम नाइड्सका अनुसार ग्राहम इजरायल र साउदी अरबबीच कूटनीतिक सम्बन्ध स्थापना गराउने अभियानका प्रमुख समर्थक थिए। तर गाजा युद्धका कारण त्यो प्रक्रिया रोकिएको थियो। अब उनको स्थान टेक्सासका सिनेटर टेड क्रुज वा अर्कान्सासका सिनेटर टम कटनले लिन सक्ने चर्चा भए पनि ग्राहमजस्तो प्रभावशाली र दुवै दलमा स्वीकार्य नेता भेटिन कठिन हुने विश्लेषकहरूको भनाइ छ।

सन् २०१६ मा ट्रम्पका कडा आलोचक रहेका ग्राहम पछि उनका निकट सहयोगी र राजनीतिक साझेदार बनेका थिए। यद्यपि सन् २०२१ को क्यापिटल हिंसामा संलग्न समर्थकलाई ट्रम्पले दिएको आममाफीको भने उनले सार्वजनिक रूपमा विरोध गरेका थिए। साथै, सन् १९९० को दशकमा राष्ट्रपति बिल क्लिन्टनविरुद्धको महाभियोग प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेपछि उनी राष्ट्रिय राजनीतिमा थप चर्चित बनेका थिए।

Leave A Comment

Don’t worry ! Your email address and mobile number will not be published. Required fields are marked (*).

सम्बन्धित खवर

भर्खरै

Advertisement