तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ सम्पन्न : खानेपानी र सडक मुख्य चासो, समाधानमा नगरपालिका प्रतिबद्ध
वालिङ, असार ३२ ।
वालिङ नगरपालिकाको आयोजनामा तथा वालिङ टेलिभिजन र प्रेस दैनिकको सहजीकरणमा वडा नं. ३ को वडा कार्यालयमा आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत प्रदान गरिएका सेवा, सुविधा तथा प्रभावकारिताबारे तेस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा वडा कार्यालय तथा नगरपालिकाले आर्थिक वर्षभरि सञ्चालन गरेका विकास निर्माण, स्वास्थ्य, शिक्षा, कृषि, पशु सेवा, पूर्वाधार, सामाजिक विकास, राजस्व तथा अन्य सेवा प्रवाहका गतिविधिको सार्वजनिक समीक्षा गर्नुका साथै स्थानीय नागरिकका गुनासा, सुझाव र जिज्ञासाहरू संकलन गरिएको थियो।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाका सबै शाखाले आर्थिक वर्ष २०८२/०८३ को तेस्रो चौमासिक अवधिमा सम्पादन गरेका कार्य, सेवा प्रवाह, उपलब्धि तथा प्रगति प्रतिवेदन सार्वजनिक गर्दै नागरिकलाई जानकारी गराउनुभयो। उहाँले शिक्षा, स्वास्थ्य, कृषि, पशु सेवा, पूर्वाधार, सामाजिक विकास, प्रशासन तथा राजस्वलगायत सबै शाखाबाट सम्पादन भएका कार्यको समीक्षा प्रस्तुत गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन नगरपालिका निरन्तर लागिरहेको बताउनुभयो।
सार्वजनिक सुनुवाइमा स्थानीयवासीहरूले विशेषगरी खानेपानीको अभाव, सडक स्तरोन्नति तथा मर्मतसम्भारका विषयमा गुनासा राखेका थिए। साथै विकास निर्माणका काम समयमै सम्पन्न गर्नुपर्ने, सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्ने तथा नागरिकमैत्री कार्यक्रमलाई निरन्तरता दिनुपर्ने सुझावसमेत दिएका थिए।
एकीकृत घुम्ती शिविरमार्फत घरदैलोमै सरकारी सेवा
त्यसैगरी प्रमुख प्रशासकीय अधिकृतले नगरपालिकाले पहिलो पटक सञ्चालन गरेको एकीकृत घुम्ती शिविर दुर्गम तथा टाढाका बस्तीका नागरिकलाई सहज रूपमा सरकारी सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको जानकारी दिनुभयो। शिविर सञ्चालनपछि सामान्य सेवा लिनसमेत नगरपालिकाको कार्यालय धाउनुपर्ने बाध्यता हटेको र नागरिकले आफ्नै वडामै सहज रूपमा सेवा प्राप्त गर्न सकेको उहाँले उल्लेख गर्नुभयो। आगामी दिनमा पनि यस्ता नागरिकमैत्री कार्यक्रमलाई निरन्तरता दिइने उहाँको भनाइ थियो।
एकीकृत घुम्ती शिविरमार्फत रेबिज नियन्त्रण अभियानअन्तर्गत ४९ वटा कुकुर तथा बिरालोलाई रेबिजविरुद्ध खोप लगाइएको छ भने १६ वटा बोकाको बन्ध्याकरण गरिएको छ। यसैगरी करिब ६५ जना कृषकलाई विभिन्न पशुरोग, आन्तरिक तथा बाह्य परजीवी नियन्त्रणसम्बन्धी औषधि तथा फुड एपेटाइजर वितरण गरिएको जानकारी दिइयो।
स्वास्थ्य सेवातर्फ ८८ जना नागरिकलाई विभिन्न स्वास्थ्य सेवा प्रदान गरिएको छ। तीमध्ये ५९ जना महिला र २९ जना पुरुष रहेका छन्। साथै १८ जनाको स्वास्थ्य परीक्षण (स्क्रिनिङ) गरिएको, ३ जना ज्येष्ठ नागरिकलाई घरदैलोमै पुगेर स्वास्थ्य सेवा तथा ३ जना बालबालिकालाई घरमै पुगेर स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको विवरण सार्वजनिक गरिएको थियो।
खानेपानी र सडकलाई उच्च प्राथमिकता
कार्यक्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै नगर प्रमुख कृष्ण खाँडले खानेपानी र सडक नागरिकका आधारभूत आवश्यकता भएकाले नगरपालिकाले ती विषयलाई उच्च प्राथमिकतामा राखी आवश्यक योजना तथा बजेटमार्फत क्रमशः समाधान गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले सार्वजनिक सुनुवाइमा प्राप्त भएका गुनासा, सुझाव तथा जिज्ञासालाई आगामी योजना तथा बजेट निर्माणको आधारका रूपमा समेटिने बताउँदै नागरिकका अपेक्षाअनुसार सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने उल्लेख गर्नुभयो।
कार्यक्रममा जनप्रतिनिधि, नगरपालिकाका कर्मचारी, विभिन्न संघसंस्थाका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो। सार्वजनिक सुनुवाइमा उठेका गुनासा तथा सुझावलाई आगामी योजना तथा बजेट निर्माणमा समेट्दै सेवा प्रवाहलाई थप प्रभावकारी, पारदर्शी र जनउत्तरदायी बनाउने प्रतिबद्धतासहित कार्यक्रम सम्पन्न भएको थियो।


Leave A Comment