वालिङमा सामुहिक गौपूजा, मानव सभ्यतासँग जोडिएकाले गाईको सेवा सधै गर्नुपर्ने
कात्तिक १७, वालिङ
स्याङ्जाको वालिङमा सामुहिकरुपमा गौपूजा गरिएको छ । वालिङ नगरपालिका वडा नम्वर ८ को काफलडाँडामा रहेको धुनि शिवालय गौशालामा आज सामुहिकरुपमा गोवद्र्धन एवम् गौपूजा गरिएको हो । पण्डित नेत्रप्रसाद पराजुलीसहित वालिङ क्षेत्रका समाजसेवी एवम् सर्वसाधारणले धुनि शिवालय गौशालामा सामुहिक गौपूजा गरेका हुन् ।
गौपूजा गर्दै पण्डित नेत्रप्रसाद पराजुलीले गाई भनेकि विश्वकै माता हुन्, गाईलाई सधैं सेवा गर्नुपर्ने बताउनुभयो । गौशालाका संरक्षकसमेत रहनुभएका पराजुलीले तिहारको समयमा मात्रै हामीले गाई पूजा नगरेर ३ सय ६५ दिन नै वार्षिकरुपमा र मानव सभ्यतासँग जोडिएको कुरा भएकाले गाईको सेवा सधैं गर्नुपर्ने बताउनु भएको हो ।
गोप्रदत्त पदार्थहरु भनेका अमृत हुन्, गाईबाट जे जे पदार्थहरु बनाउन सक्दछौं ती सबै अमृत समान भएको उहाँको भनाई छ । हाम्रो मानव जीवन सम्पूर्ण चराचर जगतसँग जोडिएको छ । संसारभर पञ्च प्रकृतिमा रहेका विकराल र वीषजन्य वस्तुहरुलाई शोषण गरेर अमृत प्रदान गर्ने गौकोरुपमा मानव सभ्यतासँगै र मानवीय कल्याणका लागि गौ पूजन जरुरी छ, पण्डित पराजुलीले भन्नुभयो ।
उहाँले मानिसहरु तत्काल प्रतिफलात्मक रहनु र गाईप्रतिको चासो तथा महत्वको ज्ञान कमि हुनु जस्ता कारण पछिल्लो समय गौपालन घट्दो क्रममा रहेको उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो,“अन्त गौपालन गर्ने आकर्षण घट्दो अवस्थामा रहेको हो । किनकि मानव भनेको प्रतिफलात्मक छ । कसरी तत्काल छोटो समयमा प्रतिफल लिन सकिन्छ भनेर फाइदातर्फ मानिसहरु उन्मुख भैरहेको अवस्था हो । तर यो गोप्रदत्त पदार्थबाट शुक्ष्मरुपले दीर्घकालसम्म जुन फाइदा छ, त्यो बुझाउन समाजमा सकिरहेका छैनौ, अनि बुझ्ने प्रयत्न गर्नुभएको छैन । त्यसै कारणले घर घरमा गाई पाल्ने कुराहरु हट्दै गयो । तर गोशालामा बिभिन्न किसिमबाट गाईको सेवा र संरक्षण बढाउने र बढ्ने क्रम जारी छ । अहिले देश विदेश जुनसुकै ठाउँमा पनि गाई संरक्षण हुँदा मानव कल्याण हुन्छ भन्ने कुरा प्रमाणित भएका छन् । यो गौ सेवामा जन्मदिन मनाउने, कसैले मृत्युको स्मृति दिवस मनाउने लगाएत हरेक कुरामा तल्लिन भएको पाइएको छ ।”
केही दिन अगाडि भ्रमणका विषयमा दुवई पुगेको र त्यहाँ रहेका नेपाली दाजुभाईहरुले गौसेवाका लागि अभियानकासाथ लागेको पण्डित पराजुलीले बताउनुभयो । नेपाली दाजुभाईहरुले कार्यक्रम नै गरेर यो शिवालय धुनि गौशाला आश्रमलाई रु.३१ हजार नगद सहयोग प्रदान गरेका र सो रकम आज गौपूजाको अवसरमा गौशाला सञ्चालन समितिका अध्यक्ष कमलप्रसाद सुवेदीलाई हस्तान्तरण गरिएको छ । यसैगरी अरु कुनै पनि बेला सहयोग गर्नेगरी सनातनी गौसेवा युएईको टीम लागेकोसमेत पराजुलीले जानकारी गराउनुभयो । उहाँहरुले आफ्नो कर्मबाट निकालिएको रकम गौ संरक्षण गर्नुपर्छ भनेर महान अभियान सहित सहयोग गर्नुभएकोमा धन्यवादसहित समिति अनि यो क्षेत्रबासीको तर्फबाट आभार व्यक्त गर्न चाहन्छ, उहाँले भन्नुभयो ।
यहाँ पहिलादेखि नै शुक्ष्मरुपमा गौशाला चलिरहेको थियो । शिवालय धुनी गुठी गौशाला आश्रम २०७५ सालदेखि विस्तार भएको हो । यहाँ डेढसयको हाराहारीमा गाईहरु छन् । स्थानीय सरकार वालिङ नगरपालिकाले १२ लाख रुपैयाँ लगानी गरेर गोठ निर्माण गरिएको हो । २०७९ मा सञ्चालन गरिएको महायज्ञबाट ८१ लाखको अक्षयकोष स्थापना भएको छ । त्यसबाट आएको व्याजबाट गाईको पालनपोषणको काम गरिएको छ । योसँगै सम्पूर्ण गोप्रेमी भक्तहरुको साथ सहयोगबाट गौशाला सञ्चालन भैरहेको छ ।
पण्डित पराजुलीका अनुसार दुई तलाको गोठ निर्माण गर्ने भावी योजना छ । जसको तल्लो तलामा १ सय गाई बाँध्न मिलोस र माथिल्लो तलामा बरान तथा चोकरहरु राख्न सकियोस् । यसका लागि प्रदेश सरकारसँग अपिल गर्ने तयारीमा लागिएको छ । यसैगरी गौमुत्र प्रशोधनको कार्यक्रम रहेको छ । योसँगै धुनि शिवालय मन्दिर व्यवस्थापन गरिने योजना छ ।
यहाँ रहेको शिवालय धुनि ४ सय वर्ष अघिदेखि जलिरहेको छ, यसकोबारेमा संसारभर बुझाउनुपर्छ भन्ने र मन्दिरलाई व्यवस्थापन गर्ने र पुरानोरुपलाई नमेटाइकन नयाँरुप दिने प्रकृयामा अगाडि बढेका छौं । यसको घेराबार, मूलगेट निर्माण तथा सुविधायुक्त बाटोका लागि करिब एक करोडको बजेटमा काम गर्ने गरी प्रदेश सरकार समक्ष जाने योजना बनाइएको पण्डित पराजुलीले जानकारी गराउनुभयो ।



Leave A Comment